नवचेतनाग्रह, घोषणा पत्र - १
नवचेतनाग्रहः एक चिन्तन सन्दर्भ
प्रस्तावना:
हाम्रो मानिसक जगत्मा सधैँ अन्धकार व्याप्त छ । मानव जाति सदैव अन्धकारमय मानसिक जगत्मा चेतनाको उज्यालोको अभीष्ट राखेर चलायमान रहने प्राणी हो । आजसम्म उसले गरेको बौद्धिक एवम् भौतिक विकासका कार्यहरूबाट निर्मित मानव सभ्यता उज्यालोतर्फ उन्मुख चेतनाको गतिशीलताबाटै सम्भव भएको हो । यदि उसको मानसिक जगत्मा सूर्यपिण्डझैँ चेतनाको प्रज्वलित पिण्ड हुन्थ्यो भने ऊ प्रकृतिमा स्थूल वा स्थिर रहने थियो होला । मानव गतिशीलताको अर्थ उसको अन्धकारमय मानसिक जगत्को द्योतक हो । मानिस जीवनको अन्धकारमय यात्रामा ससाना सङ्केत, इसारा, लक्षण, सूत्र वा झिल्काहरूको सहारामा महायात्रा गर्दै यहाँसम्म आइपुगेको छ । मानवले चार हजार वर्षदेखि बौद्धिक एवम् भौतिक विकासको क्रममा साहित्य, सङ्गीत, कला, समाजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, खगोलशास्त्र र धर्मदर्शनमा जे जस्ता उपलब्धिहरू हासिल गर्दै आयो ती कुनै एक दृष्टान्त र सिद्धान्तबाट मात्रै सञ्चालित छैनन्, यो मानव जीवन र जगत् पनि यसरी सञ्चालित छैन । विविध नयाँ चिन्तन, नयाँ दृष्टान्त, सिद्धान्तबाट निर्मित विभिन्न पद्धतिहरूबाट जगत् सञ्चालित हँुदै आएको छ । यिनै दृष्टान्तहरूलाई हामीले समय चेतनाका झिल्का मानेका हौंँ। मानिस यिनै चेतनाका ससाना झिल्काहरूको इसारा, सङ्केत र लक्षणहरू समातेर जगत्मा यात्रा गरिरहेका छन् । नवचेतनाग्रह आफूलाई यही अन्धकारमय महायात्राको एउटा सानो झिल्का मान्दछ ।
अवधारणाहरू
१.
साधारणतः प्रकृति नग्न छ, थियो र हुनेछ । प्रकृतिको नग्नता उसको स्वस्पष्टताको प्रकटीकरण हो । प्रकृतिको नग्नता सत्य हो र उसको नग्नतामा सन्देह छैन । प्रकृतिमा भित्र र बाहिर भन्ने छैन, यसो भनौँ प्रकृतिमा द्वैधसत्ता छैन । यो नै उसको सौन्दर्य हो । मानिस चेतन र अचेतनमा प्रकृतिबाट प्रभावित छ र वृतिमा अनुकृत पनि । तर प्रकृतिकै एक अङ्ग मानिस उसको प्राकृतिक स्वरूपमा मात्र नभएर ऊ निक्कै बलियो कृत्रिम आवरणका तहहरू भित्र छ । सभ्यताको विकासक्रमसँगै नैतिकताका, धर्मका, सामाजिक मूल्य र मान्यताका आवरणहरूले प्राकृतिक मानिसलाई बिस्तारै ढाक्दै गयो । यिनै आवरणहरूकै कारण उसको मनोविज्ञानमा नग्नताप्रति श्लीलता र अश्लीलताको मनोग्रन्थको विकास हुन गयो । आजको मानिस भित्री मानव र बाहिरी मानवमा विभाजित छ । तसर्थ मानव प्रवृतिमा द्वैधसत्ताको विकास भयो । यसो हुँदा प्रकृतिको नग्नताको व्यञ्जना अभिधात्मक छ र नै मानवको नग्नताको अभिव्यञ्जना पनि प्रतीकात्मक हुनपुग्छ । मानिस मानवीय मूल्य, मान्यता, लोक लाज र सामाजिक प्रतिष्ठाको रक्षार्थ आफूभित्रको प्राकृतिक नग्नतालाई कलाको माध्यमबाट अभिव्यक्त गर्दछ वा नग्नताको प्रकटीकरणका लागि सिर्जनामा कला भर्दछ ।
आवरणका कारणले मानिसमा श्लीलता र अश्लीलताको मनोग्रन्थिी विकास भयो । त्यसै कारणले ऊ सामाजिक मूल्य मान्यता मान्दछ । मानिस भित्रको नग्नतालाई कृत्रिम आवरणहरूले बाहिर आउन दिँदैनन् अतः मानवले जगत्मा श्लीलता र अश्लीलता देख्दछ । किनभने श्ललीता र अश्ललिता वस्तुमा होइन उसको मानसिकतामा हुने गर्दछ । आवरणकै कारण मानवको प्राकृतिक नग्नता उसको प्रवृति, आचरण वा वृतिमा प्रतिबिम्बित हुन्छ । त्यसैले काव्यमा कला प्रकृतिको नग्नताको अभिव्यञ्जना हो ।
२.
प्रकृतिको प्रतिकूलतासँग सङ्घर्ष गर्दै र अनुकूलतासँग खेल्दै र त्यसको प्रभावबाट कला उमार्दै यहाँसम्म आइपुगे पनि प्रकृतिप्रति मानव चेतनाको सीमा छ । प्रवृति एवम् प्रकृतिमा स्थापित जगत्प्रति मानव चेतनाको सीमाका कारण उसमा भ्रम अधिक छ । उसको मानसिक जगत् भ्रममय छ । मानिसको चलायमान स्थिति वा गतिशीलता भ्रमका कारणले हुन्छ । मानव सदैव थोरै सत्य र धेरै भ्रममा बाँच्दछ, किनभने उसले जगत् र जीवनमाथि पूर्ण ज्ञान प्राप्त गरिसकेको अवस्था होइन, न त केही ज्ञान नै प्राप्त नगरेको अवस्था हो । मानिस अर्ध छ वा सधँै अपुरो, अधुरो छ, कारण उसले केही सिकेको र धेरै सिक्न बाँकी रहेको र थोरै गरेको र धेरै गर्न बाँकीरहेको अवस्थामा छ । मानिसको चेतनामा निश्चित सीमा हुने हँुदा उसको मनोजगत्मा भ्रम अधिक र सर्वव्यापी छ । मानिसले जगत्माथि पूर्णता हासिल गरिसकेको हुँदो हो त ऊ स्थूल वा स्थिर हुन्थ्यो । उसको गतिशीलता भन्नु नै अर्धताबाट उत्पन्न भ्रमको चलायमानता हो । मानिस धेरै भ्रमहरूबाट सत्यमा पुग्न क्रियाशील रहन्छ । एउटा सत्यमा पुग्दा ऊ गन्तव्यमा पुगे जस्तो स्थिर वा निश्चित देखिन्छ, तर एक समय प्राप्त पूर्ण सत्य अर्को समयमा पुगेर अर्ध बन्दछ । किनभने सत्य भन्ने तŒव चेतनाले स्थापित गरेको सीमासम्म मात्रै स्थिर छ । आजको सत्य भोलि असत्यमा परिणत हुन्छ, त्यसो र मानव कृत्य विरोधाभासपूर्ण छ । एउटा सत्यको प्राप्ति एउटा भ्रमको अन्त्य हो । तापनि एउटा सत्यको प्राप्तिसँगै अर्काे भ्रमको जन्म पनि हुन्छ । यो भ्रमको व्यापकता हो । मानवका सम्पूर्ण क्रिया वा कृयाशीलता उसको अर्धता र अल्पज्ञताको अभिव्यक्ति पनि हो । यसरी मानवमा भ्रमको जीवनचक्र निरन्तर चलिरहन्छ । सत्य र भ्रान्ति यी दुवै सहयात्री पनि हुन् ।
३.
मानिसको प्रवृति, स्वभाव र आचारणले कुन कुरा सिद्ध गर्दछ भने ऊ पूर्ण सद्दे छैन, न त पूर्ण पागल नै छ । मानव स्वभाव अर्ध सद्दे र अर्ध पागलपनको सम्श्रिण हो । मानव सधैँ अर्ध सद्देपन र अर्ध पागलपनको सन्तुलनमा हुने गर्दछ । तर अर्ध सद्देपन उसको चेतनामा सक्रिय रहने तŒव हुनाले उसलाई पूर्ण सद्देपनको भ्रम उत्पन्न हुने गर्दछ । वस्तुतः त्यो सत्य होइन किनभने मानिस आवरणभित्र छ । आवरण दुई प्रकारका छन्ः भौतिक आवरण र मानसिक आवरण । आरम्भमा भौतिक आवरणकै कारण कालान्तरमा मानव मनोग्रन्थिमा मानसिक आवरणको विकास हुन गएको हो । यही मनोग्रन्थिको प्रभावबाट बन्न गएको मानसिक आवरणले मानिसलाई बाह्य मानव र अन्तर मानवका रूपमा विभाजित गरिदिएको छ । अन्तर मानव जो प्राकृतिक स्वरूपमा छ, नग्न, स्पष्ट र सुन्दर छ । तर बाह्य मानव ढोँगी, बनावटी र पाखण्डी छ । बाह्य मानव आफू असल, सुसंस्कृत र सभ्य देखिन पारिवारिक, सामाजिक, धार्मिक, एवम् नैतिकताको अनुकूलतामा हुन्छ, तर अन्तर मानव त्यसको ठीक प्रतिकूलतामा । तसर्थ बाह्य मानवमा दमन शक्ति छ र अन्तर मानवप्रति ऊ दमनकारी छ । अन्तर मानवमा बाह्य मानवको निरोध, निषेध र दमन निरन्तर छ । बाह्य मानवको दमनका कारण अन्तर मानव समय–समयमा आर्जित शक्तिले बलियो छ । यसो हँुदा बाह्य मानव र अन्तर मानवको अवचेतनमा अन्तद्र्वन्द्व निरन्तर छ । अन्तद्र्वन्द्वकै कारण मानिसको बोली र व्यवहारमा विचलन छ । मानिसको बोली बाह्य मानवको आदेश पालना गर्दछ, तर दमनका कारण शक्तिशाली अन्तर मानव समयानुकूल बाह्य मानवको आदेश वेवास्ता गर्दछ । फलतः मानवमा द्वैध चरित्र वा द्वैधसत्ता छ । ऊ बाहिरबाट एकथोक छ र भित्रबाट अर्कोथोक । ऊ बाहिरबाट एकथोक देखिन्छ भित्रबाट अर्कैथोक भेटिन्छ । मानवमा पूर्ण सद्देपन छैन, कारण आवरणले मानवमा दमन छ र दमनका कारण मानव स्वभावमा अर्ध पागलपन छ ।
४.
मानवका निम्ति जगत् अद्भुत र रहस्यमय छ । उसले जगत्लाई आफ्नो बुद्धि, विवेक, चेतना र ज्ञानको सीमाभित्र हेर्दै र बुझ्दै आएको छ । जगत्प्रतिको सीमित बुझाइ र अर्धताका कारण मानव जीवन भ्रान्तिमय छ । यही भ्रमबाट सृजना र कला पनि प्रभावित छ । धेरै भ्रमहरूबाट सत्योन्मुख हुने प्रक्रियाहरूमा कला वा सृजनाभित्र भ्रमको पुनरुत्पादन हुन्छ । अतः सृजना वा कला पूर्ण सत्य होइन न त पूर्ण असत्य नै । त्यसैगरी मानवमा दमनका कारण बाह्य मानव र अन्तर मानवको निरन्तर अन्तद्र्वन्द्व छ । समय र परिस्थितिको अनुकूलतामा दमित अन्तर मानव बाह्य मानव पराजित हुनेगरी दमनको प्रतिरोध वा सामना गर्दछ । यदि समय र परिस्थितिको प्रतिकूलतामा दमित अन्तर मानवले छद्मरूपमा सहज एवम् सरल अभिव्यक्तिको खोजी गर्दछ । अभिव्यक्तिले (साहित्य, कला र सङ्गीतको माध्यमबाट) एकातिर दमित अन्तर मानवलाई राहत प्रदान गर्दछ भने अर्कोतिर उसको प्रतिकूलताको विरुद्ध सहजीकृत र सरलीकृत मार्ग प्रशस्त गर्दछ । यसरी सृजना वा कलामा अर्ध पागलपन व्यक्त हुने गर्दछ ।
५.
आजको सभ्यतामा अवतरित हुनाका लागि मानिसले गरेका भौतिक एवम् मानसिक प्रगतिहरूमा सदैव उसको बुद्धि, विवेक, ज्ञान, संज्ञानहरूमा विचारप्रधानता सर्वोपरि वा सर्वमान्य रह्यो । यस अर्थमा जीवन र जगत्लाई विचारले नेतृत्व गर्दै आयो । चार हजार वर्षदेखि उसले नेतृत्व गर्दै आएको विचार मानव हितका निम्ति सफल रह्यो या रहेन ? अब विमर्शको विषय बन्नु पर्छ । किनभने यस जगत्मा मानव सभ्यता सँगसँगै मानवीय विद्वेष, विद्रुपता, विग्रह पनि जोडिएर आएको छ । यी सारा विग्रह, युद्ध, द्वन्द्व, हिंसा र मानव वितण्डा के उसकै निम्ति हितकर रह्यो त ? होइन भने मानवका सम्पूर्ण सत्कर्मका सत्प्रयासहरूमा कहाँनेर त्रुटि रह्यो त ? अब विवेचनाको विषय बन्नु पर्छ ।
त्यसो भए विचार के हो त ? मानिसमा रहने बुद्धितŒव र चित्ततŒवले सत् असत् पहिचान गर्न सक्ने चेतना शक्तिबाट विचार उत्पन्न हुन्छ । जो मानिसलाई मात्र प्राप्त छ । विचार सामान्य व्यक्तिमा सीमित रहँदासम्म शब्दकोशीय अर्थमा निहित रहन्छ । तर सामान्य विचार समाजमा प्रत्यारोपित भए पश्चात् त्यसको अर्थ व्यापकताले असामान्य बन्दछ । किनभने विचारले आफ्नो बोली चिन्तन वा मननको सिद्धिका निम्ति सामान्य सत्यको बयान मात्रै गर्दैन, यसले परिस्थिति अनुरूपको अर्थ प्रदान गर्दै तर्कसङ्गत ढङ्गबाट कुनै सम्भावनाको प्रतिपादन गर्न सक्ने क्षमता राख्दछ । यो विचारको प्रकृतिगत विशेष सद्गुण हो । आजतक जीवन र जगत् विचारको प्रकृतिगत सद्गुणको प्रभावद्वारा सञ्चालित हँुदै आएको छ । यसरी जीवन र जगत्को उन्नयनमा सन्तुलनका निम्ति विचारको सद्गुणको एक पक्षीय गतिशीलता मात्रै नभएर विचारका दुर्गुणको विवेचना हुनु पर्दछ भन्ने नवचेतनाको आग्रह हो । ईश्वर, धर्म र दर्शनहरू मानव जीवनलाई सत्मार्ग प्रदान गर्न असल रहेतापनि असफल भए । मानिसले त समाजभित्र विद्यमान अन्तद्र्वन्द्वलाई द्वन्द्वात्मक भौतिक विज्ञानको विकास गरीकन समाज व्यवस्थापनको सिद्धान्तकै निर्माण गरे । यसले पनि द्वन्द्वका निम्ति द्वन्द्व गर्ने द्वन्द्वकलाको मात्रै विकास ग¥यो तर समाजमा विद्यमान विग्रहबाट मानिसलाई मुक्ति प्रदान गर्न असफल नै रह्यो । यी सारा असफलताका कारण के हुन सक्लान् त ? यति लामो मानव सम्यताका सत्कर्मका प्रयासहरूका अनुक्रममा विचार नै सर्वोपरि, सर्वमान्य र प्रधान रहँदै आयो । त्यसो हो भने यस गलत परिणामका मूलकारक विचारमाथि नै किन सन्देह नगर्ने ?
(क) विचारको बहुलतामाथि सन्देह गर — जगत्मा मानिसका विचार बहुल छन् र अनेक छन् । तर विचारहरूमा बहुलताका स्वभाव अथवा अरूको अस्तित्वको समान एकताको भाव वा उसको स्वत्वलाई उसकै रूपमा स्विकार्नै र सम्मान गर्ने भाव विचारको कृत्यमा हुन्छ कि हँुदैन ? यदि हुन्थ्यो भने बहुल विचारहरूमा एकताको सम्भावनाको स्थान हुन्थ्यो र समाजमा विग्रह र द्वन्द्वको कारण नै हुने थिएन सायद । तर समाजमा विद्यमान अन्तद्र्वन्द्वको निरन्तरता विचारमा बहुलताका लागि अरूको अस्तित्वको समान एकताको भाव वा उसको स्वत्वलाई उसकै रूपमा स्वीकार्य र सम्मानभावको अभावको कारणले छ । त्यसो हो भने विचारमा केही विकार, दुर्गुण एवम् दुर्बल पक्षहरू पनि छन् । विमर्शका निम्ति सन्देह गरौँ ।
- विचारमा एकात्मकता छ — विचार आफूकेन्द्रित र आत्मसत्तावादी छ । विचार अरूको सŒवलाई उसकै रूपमा स्विकार्ने र सम्मान गर्ने गुण रहित छ । ऊ अरूको अस्तित्वलाई आफूमा विलयन गराउन चाहन्छ र आफ्नै अस्तित्वको मात्र पक्षपोषण गर्दछ । यसले अरूसँग मिसिने गुण राख्दछ भने पनि अरूको अस्तित्व आफूमा समाहित गरिसकेपछि मात्रै । त्यसैले विचारको एकात्मकताले अरूको मौलिक रूपलाई तिनकै अस्तित्वमा स्विकार्न सक्तैन । त्यसको सम्मिश्रणका निम्ति यसले द्वन्द्वको आमन्त्रण गर्दछ ।
- विचारमा केन्द्रीयता छ — यसले अन्य विषयवस्तुलाई आफूमा केन्द्रीकृत गर्दछ वा कुनै निश्चित उद्देश्य प्राप्तिका निम्ति आफ्नो शक्तिको केन्द्रमा ढालेर हेर्दछ । यसले तर्कसङ्गत ढङ्गबाट आफ्नो अनुकूल विषय सन्दर्भलाई सिद्ध गर्न तत् समय सत्यको आख्यान कार्य गर्दछ । तसर्थ यसले अन्यको मौलिक रूपमथि आफ्नो अस्तित्व सत्ता देख्दछ । विचारको केन्द्रीयतामा साना वस्तुमाथि ठूलो वस्तुको आकर्षणको नियम अनुसरण हुन्छ वा अन्यमाथि आफ्नो शक्ति लाद्ने र थोपर्ने हुन्छ ।
- विचारमा निरङकुशता छ — एकात्मकता र केन्द्रीयताको सत्तालाई बचाउन एक कवच वा रक्षकका रूपमा विचारमा निरङकुशताको स्थान छ । एक अर्थमा निरङकुशता विचारको सेवक हो । आफ्नो सामथ्र्यले भ्याउने समय सीमासम्म निरङ्कुशताले एकात्मकताको एवम् केन्द्रीयताको सुरक्षार्थ विचारको सेवा गर्दछ, जहाँ निरङ्कुशताको शक्ति प्रबल रहन्छ । यसको सत्ता समयसीमा निरङ्कुशताको शक्तिमा निर्भर रहन्छ । एकात्मकता, निरङ्कुशता र केन्द्रीयताका कारण विचार कुरूप र हिंस्रक छ । निरङ्कुशताको सर्वथा शक्ति भनेको दमन हो । निरङ्कुशताकै कारण जगत्मा दमनका प्रतीकात्मक एवम् छद्मभेषी रूपहरू प्रकट हुन्छन् । दमन शक्ति र दमित शक्तिबिच अन्तद्र्वन्द्व र अन्तरसङ्घर्ष छ । निरङ्कुशताले जगत्मा दमनको जीवनचक्र निर्माण गर्दछ । जसद्वारा मानवमा उत्पन्न हुने भौतिक एवम् मानसिक दमनको विश्वव्यापीरूप सञ्चालित छ ।
सङ्क्षेपमा यी कारणहरूले नवचेतनाग्रहले विचारमाथि सन्देह राख्दछ । यी अवगुणहरूका कारण विचारहरू अनेकन वा बहुल हँुदाहँुदै पनि वस्तुतः विचारको बहुलता मिथ्या हुन पुग्दछ । विचारहरू बहुलता वा बहुलमा एकताको भाव राख्न सक्ने क्षमता वा गुणको अभावले बहुल विचारहरू बहुल हुन अगावै खण्डिततामा (रूपले होइन, स्वभावले) रूपान्तरित हुन पुग्दछन् । फलतः बहुल विचारको खण्डितताकै कारण संसारमा युद्ध, द्वन्द्व, विद्वेष र वितण्डाहरू छन् । एकले अर्कासँग युद्ध नै लड्न पर्ने कारणहरु रहन्छन् ।
(ख) मानवले निर्माण गरेको जगत् अपूर्ण, अर्ध र च्याप्टो छ । यही अर्धताका कारण जीवन र जगत् उन्नयनको उत्कट अभीष्ट सहित गरिने उदात्त क्रियाकलापहरूबाटै मानव निरन्तर दुर्घटित र स्खलित हुँदै आएको छ । थाहा छ — यो जगत् दृश्य एवम् अदृश्य दुवै वस्तुको सहअस्तित्वद्वारा निर्मित छ र पूर्णता प्राप्त छ । तर मानव कहिलेकाहीँ दृश्यवान् वस्तुको पछिमात्र दौडिन्छ र अगोचर वस्तुमा दुर्घटित हुन पुग्दछ ।
काव्य वा कला पनि मानव जीवन र जगत्को पूर्णताका लागि हो, हामीले मान्यौँ । तापनि विचारको एकात्मकता, केन्द्रीयता र निरङ्कुशताका कारण काव्य पनि सीमाङ्कित छ । यसकै कारण काव्यको कवित्व वा कुनैपनि सिर्जनाको मर्म पाठकसम्म सम्प्रेसित हुन अगावै समाजप्रतिको नैतिक दायित्वको बन्धनमा फस्न पुग्दछ । यसो हुँदा काव्यको व्यापक दृष्टान्त सुरुङ मार्ग बन्न जाने र यसको कार्य व्यवहार सीमाङ्कित हुन पुग्दछ । यसरी जीवन र जगत्को व्यापकतालाई समाजमा देख्न, लेख्न वा उचाल्न सकिँदैन । यसबाट प्रकृतिलाई हेर्दा एकथोक देखिन्छ र धेरैथोक छेलिन्छ । जीवन उचाल्दा एकथोक उचालिन्छ र सम्पूर्ण छोडिन्छ । यसरी हेरिँदा थोरै देखिन्छ र धेरै छेलिन्छ ।
(ग) काव्य वा कवितामा विचार केका लागि ? सत्य यो हो कि स्रष्टाले कवित्वलाई नैतिकता, उपादेयताको भारी बोकाउनु छ । काव्य सम्प्रेषणको माध्यम बनेर उपदेशकको रूपमा पाठकमाथि अधिनायकत्व लाद्नु छ । कवित्व, आदर्श समाज वा राज्यको नोकर र दास बन्नु छ । त्यो विचारकै कारणबाट मात्रै सम्भव छ । यसो हुँदा विचारको कथित नैतिक बन्धन नै काव्यिक निस्सीमताको प्रमुख बाधक बन्न पुग्दछ । विचारले कवितालाई स्वतन्त्र र स्वायक्त सत्ताको रूपमा स्विकार्न सक्तैन बरु निरन्तर कथित नैतिकता र उपादेयताको बन्धनभित्र आफ्नो अनुकूलताको दास बनाइरहन्छ । दास स्वतन्त्र हुन सक्तैन र विना स्वतन्त्रता व्यापक र निस्सीम बन्न सम्भव छैन । विचारमा विद्यमान एकात्मकता, केन्द्रीयता र निरङ्कुशताकै कारण विचार ग्राह्य होइन, केवल आरोपित वस्तु बन्न पुग्दछ । यसले कवित्वमाथि शासन गर्दछ र पाठकमाथि अधिनायकत्वको आरोपण गर्दछ । कवित्वमा विचारको शासन र अधिनायकत्वले पाठकको हत्या गर्दछ र पाठकको हत्या काव्यको मृत्यु हो । पाठकको मृत्यु उसको काव्यिक चेत, विवेक र स्वनिर्णयप्रति प्रतिबन्ध लाग्नु हो । नवचेतनाग्रह भन्दछ “काव्यको जीवन कवित्वमा अर्थहरूको जागरणमा छ ।” विचारले त सत्य सिद्धिका निम्ति तर्कसङ्गत बयान वा आख्यान गर्ने हुनाले कवित्वमा अर्थहरूको जागरण छैन । काव्यमा पाठकका लागि खेल्ने भूमि (poetic space) व्यापक छ । त्यसैले काव्य स्थूल छैन, तर हामी काव्यलाई आदर्श समाज निर्माणको अभिप्रायले मानव उपयोगिताका उत्कृष्ट साधन, औजार वा हतियार बनाउँदछौँ । औजार कर्ता होइन । त्यो स्थूल छ र दोस्रो शक्तिद्धारा सञ्चालित छ । यसरी काव्य स्थूल बन्दछ र विचारद्वारा चालित औजार । त्यसैले काव्यिक निस्सीमताका लागि विचारको दासत्वबाट कवित्वको उन्मुक्ति आवश्यक छ । विचारको दासत्वबाट काव्यको उन्मुक्तिका लागि कवित्वमा विचारको विघटन र चेतनाको स्थापन अनिवार्य छ, हामीले भन्यौँ ।
(घ) काव्य कवित्वका लागि कि पाठकका लागि ? विचारको अधिनायकवादी शासन सत्तामा कविता कवित्वका लागि हुन सक्तैन । विचारको एकात्मकता, केन्द्रीयता र निरङ्कुशताले आदर्श समाज निर्माणको उद्देश्यमा अभिप्रेरित काव्य पाठकका लागि भनेर निर्देशित छ । तर कविता कुनै अद्भुत वा अलौकिक सृजना होइन । न त लेखक वा कवि कुनै तेस्रो ग्रहबाट आएको अद्भुत अलौकिक प्राणी नै हो । ऊ पनि पाठक झैँ यही ग्रह वा जगत् र समाजको सामान्य मानिस हो । ऊ पनि पाठकझँै समान बुद्धि, चेतना, कल्पना र भावना बोकेको मानिस नै हो । उसको सृजना तेस्रो ग्रहको अलौकिक जीवन र जगत्को अनुकृति होइन । पाठकसँगै बाँचेको यही लोकजीवन र जगत्को अनुकृति हो । उसको सृजना यही जीवन र जगत्को अनुकरण र पुनरुत्पादन हुनेहुँदा पाठक स्वयम्को जीवन पनि स्वतस्फूर्त र स्वतन्त्र रूपमा सृजनामा समाविष्ट हुने विषय हुन् भने सृजना पाठकका लागि भनिरहनुको औचित्य छैन । तर औचित्य छ —विचारको अनुकूलतामा निर्दिष्ट लक्ष्य प्राप्तिका निम्ति ।
काव्य वा कविता सृजना हो, कुनै यन्त्र—उत्पादित उपभोग्य भौतिक वस्तु होइन । जो बजार व्यवस्थापनको उद्देश्यका साथ उपभोक्ताका रुचि र आवश्यकतालाई ध्यानमा राखी उत्पादन गरिन्छ । वस्तुतः सृजना—सृजनाकै लागि हो, तापनि यो पाठक एवम् श्रोताका माझ पुगेर उसको चेतना जागरणको निम्ति मानसिक उत्प्रेरकको कार्य गर्दछ र मनोपयोगी विषय बन्न पुग्दछ । अनि कविताद्वारा मानवको मनोजगत्् लाभान्वित पनि हुन पुग्दछ । यस जगत्को संरचनामा प्राकृतिक वस्तुहरूको उत्पति वा सृष्टि कसैका लागि भनेर नियोजित छैन । बरु यहाँ एकले अर्कालाई उपयोग मात्र गर्दछन् । जस्तो एउटा उदाहरणः— फूल प्रकृतिमा कसैको लागि भनेर फुलेको होइन । प्रकृतिको नियम पालन गर्दै फूल आफ्नै लागि फुल्दछ र झर्दछ । तर प्रकृतिमा पूmललाई जीव, जन्तु, मानिस र कवि कलाकारसम्मले आआफ्ना आवश्यकतामा उपयोग गर्दछन् । काव्य वा कविता फूलजस्तै हो– हामी मान्दछौँ । तर जब कुनै निश्चित उद्देश्य प्राप्तिका निम्ति विचारले काव्यलाई घोडा बनाउँदछ, भारी लाद्छ र कोर्रा हिर्काउँछ, अनि कविता पाठकका लागि भन्न लगाउँछ, तब कविता कवित्वका लागि नभएर पाठकको लागि हुन पुग्दछ र कविता विचारको अधिनायकत्व र दासत्वबाट बन्धित, शोसित, शासित र सिमाङ्कित भइनै रहन्छ ।
सृजना जगत्मा नवचेतनाग्रहको व्यवस्थापन
सूत्रवाक्य ः— सृजनामा चेतना मात्रै नवीन छ ।
प्रकृतिमा सर्वथा वा नितान्त नयाँको स्थापना सम्भव छैन । मानवले प्रकृतिमै भएका वस्तुहरूलाई नयाँ ढङ्गबाट बुझ्न वा प्रयोग गर्न मात्रै सक्तछ । तिनै नयाँ–नयाँ बुझाइ र प्रयोगहरुबाट प्राप्त वस्तुलाई मानिसले नयाँ मान्दै आएका छन् । वस्तुतः नयाँ मानिसको चेतना हुन्छ । जगत्का वस्तु चेतनाको आलोकमा प्रकाशित भएपछि मानिसलाई प्राप्त एवम् दृश्यमा वस्तु नयाँ लाग्ने भ्रम उत्पन्न हुन्छ । यसो भनौँ — मानिसको चेतनाभित्र वा उसकै वरिपरि अवस्थित निष्क्रिय एवम् गौणवस्तु चेतनाको आलोकमा प्रकाशित हुन्छ र त्यसलाई केन्द्रीय विषयवस्तु बनाएर सैद्धान्तिक एवम् व्यावहारिक तŒवहरूले घनीभूत पार्दछ र त्यसको अस्तित्वलाई सक्रिय बनाउँदछ । त्यतिखेर गौणवस्तु अस्तित्वमा आउने र चेतना गौण बन्न हुँदा मानिसमा यो वस्तु नै नयाँ हो भन्ने भ्रम उत्पन्न हुने गर्दछ । वस्तुतः जीवन र जगत्का वस्तुको अस्तित्वलाई पहिचान गर्ने चेतना र प्रयोग क्षमता मात्रै नयाँ हो । सृजना जगत्मा नवचेतनाग्रहको व्यवस्थापनका पाँचवटा आग्रहहरू छन्ः
१. प्रकृतिको नग्नतामा कला छ है !
(क) सृजना कलाका लागि
(ख) मनोविकारको शुद्धीकरणका लागि
(ग) अभिव्यक्ति सहजीकरणका लागि
(घ) प्रतीयमान प्रत्ययीकरणका लागि
२. मानवमा भ्रम चलायमान छ है !
(क) जगत्मा भ्रमको व्यापकताका कारणले
(ख) प्रकृतिप्रति मानव ज्ञान अपूर्णताका कारणले
(ग) मानव सदैव चेतनाको उज्यालोतिर गतिशील भएका कारणले
३. मानव स्वभावमा अर्धपागलपन छ है !
(क) आवरणका कारणले
(ख) दमनका कारणले
(ग) द्वैध चरित्र वा द्वैध सत्ताका कारणले
४. सृजना अर्ध पागलपनको अभिव्यक्ति र भ्रमको पुनरुत्पादन हो है !
(क) मानव कृत्य दमन र भ्रमबाट प्रभावित हुने हुनाले
(ख) सृजना आंशिक सत्य र असत्यहरूको सम्मिश्रण, अर्धसत्य वा अर्धअसत्य हुनाले
(ग) दमनको समन र सहजीकरण हुनाले
(घ) दमनको आंशिक क्षतिपूर्ति हुनाले
५. विचारको विघटन र चेतनाको स्थापन — सर्त छ है !
(क) विचारमाथि पुनर्विचार वा विवेचनाका लागि
(ख) जीवन र जगत्को पुनःसमीक्षाका लागि
(ग) जीवन र जगत्को पूर्णताका लागि
(घ) काव्य निस्सीमताका लागि
- कविता कवित्वको लागि हुनुपर्ने भएकाले
- कविता विचारको दासत्वबाट मुक्त हुनुपर्ने भएकाले
- पाठक स्वतन्त्र हुनुपर्ने भएकाले
(ङ) चेतनको बहुलताको स्थापनाका लागि
निष्कर्षः
चेतना र विचारका बिच अन्योन्याश्रित सम्बन्ध छ । चेतना विचारको स्रोत हो । चेतनाको जागृत अवस्था नै विचारमा रूपान्तरित हुने तत्व हो । चेतनाकै कारण विचारले मनोजगत्मा अस्तित्व ग्रहण गर्दछ । समस्त वस्तुको बोध एवम् ज्ञान चेतना प्रकाशमा नै सम्भव हुन्छ । जीवनका सम्पूर्ण क्रियाप्रतिक्रिया चेतनाकै स्तरमा सम्पन्न हुन्छन्, चेतनाको यही जागृत अवस्था विचार रूप बदलिएपछि एकात्मक, केन्द्रीय र निरङ्कुश बन्न पुग्दछ । फलतः विचारहरूको बहुल एकताका लागि द्वन्द्व आमन्त्रित छ । विचार सिमाङ्कित छ, तर चेतना व्यापक छ । व्यापकतामै बहुलता अटाउँछ र बहुलतामा अनेकता हुन्छ र अनेकतामा रङ्गहरू हुन्छन् । रङ्गहरूमा विविधता हुन्छ । तर विचारको एकात्मकताले रङ्गहरूको हत्या गर्दछ ।
स्रष्टाको विचार काव्य वा सृजनालाई अभिव्यक्ति वा सम्पे्रषणको माध्यम बनाएर पाठकको मानसमा प्रत्यारोपणको विषय बन्नु हँुदैन । यसो गरिँदा सृजना निस्सीमताको अन्त्य हुन्छ । सृजनामा विचारको विघटनले जागृत हुने अर्थहरूको जागरणले निर्माण गरेको व्यापक भूमिमा खेल्न र स्वविवेक अनि स्वनिर्णयको अधिकार पाठकले प्राप्त गर्दछ । यसो हुँदा सृजनामा चेतनाको स्थापन सम्भव छ ।
आग्रहकद्वयः
रक्ष राई
मिजास तेम्बे
सन्दर्भ सूचीः
१. पाश्चात्य साहित्य सिद्धान्त, २०५७, विष्णुप्रसाद घिमिरे
२. पाश्चात्य साहित्य सिद्धान्त, २०६२, इन्द्रविलास अधिकारी
३. उत्तरआधुनिक ऐना, २०६२, डा. गोविन्दराज भट्टराई
४. उत्तरआधुनिक विमर्श २०६४, डा. गोविन्दराज भट्टराई
५. मनोविश्लेषणात्मक सिद्धान्त, सिग्मण्ड फ्रायड
६. जन्मघात सिद्धान्त, अटो रैन्क
७. तेस्रो आयाम र बैरागी काँइला, २०६२, कृष्ण धरावासी
८. लीला प्रस्तावना, कृष्ण धरावासी
९. मिश्रणवादः घोषणपत्र, २०६५ डा. घनश्याम न्यौपाने, देवी पन्थी
१०. what does it all mean ? – Thomas Nagel
११. Change your thinking – Dr .Sarah Edelman
१२. Madness and civilization (1964) – Michel Foucault

No comments:
Post a Comment